free website hit counter

ओलीले किन आफैंसँग राख्नुभयो रक्षा ?

beemaadmin
२०७७ पुष १५, बुधबार

शेरबहादुर देउवालाई ज्योतिषले फेरि प्रधानमन्त्री बन्ने भनेको कुरा उहाँकै मुखबाट जनताले सुनिसकेका छन् । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाको चिनामा पनि त्यस्तै रहेछ, राजयोग ।
ज्योतिष विज्ञानमा यस्तो व्यक्तिले राज्यको नेतृत्व गर्ने विश्वास गरिन्छ । त्यसो त पूर्णचन्द्र अहिले पनि राज्यको महŒवपूर्ण अंग मानिने सैनिक संगठनको प्रमुखका रुपमा नेतृत्व गरिरहेका छन् । उनको चिनालाई लिएर कतिपय व्यक्तिहरू चर्चा गर्दैछन्, सैनिक सुप्रिमेसीको । सर्वोच्च अदालतले संसद विघटनकै पक्षमा फैसला गर्नेबित्तिकै देशमा रक्तपात हुने सम्भावनाको चर्चा चुलिँदो छ । त्यस्तो अवस्था प्रहरीको हातबाट बाहिर गयो भने सेनाले लिनुपर्ने बाध्यताको हो । न्यायाधीशको घरमा आगो लगाउने, ढुंगा हान्नेसम्मको गतिविधि हुनसक्छ । मौकामा चौकाको फाइदा देशले प्रधानसेनापतिलाई शासकीय अधिकार दिएर वा सेनाले शासन हत्याएर लिने वा रक्षा मन्त्रालयसमेत लामो समयदेखि आफैंसँग राखिरहनुभएका प्रधानमन्त्रीले सेनाको बलमा सरकारलाई निरन्तरता दिने त होइन ? यो कोणबाट पनि चर्चा हुने गरेको छ । रक्षा चलाइरहेका ईश्वर पोखरेललाई प्रम कार्यालयमा थन्क्याउने प्रचण्ड–माधव खेमाबाट तानिएका आयारामहरुलाई दिन सकिने एकमात्र रिक्त मन्त्रालय रक्षा पनि आफैंसँग राख्ने कुराले शंका जन्माएको हो ।
यसैबीच, लागुऔषध सेवन गरेर सेनाको हेलिकोप्टर उडाउने एकजना लेफ्टिनेन्ट कर्णेलको जागिर पूर्णचन्द्रले ‘चट्’ पारिदिएका छन् । दोस्रोपटक पिसाव परीक्षण गर्दा पनि कोकिन पोजिटिभ देखिएपछि दीपक पाण्डेले जागिर गुमाएका हुन् । पिसाबबाट दुव्र्यसनी प्रमाणित भएपछि उनीमाथि कोर्ट अफ इन्क्वायरी भयो । एक महिना सैनिक हिरासतमा बसे । अहिले जागिर गुमाएर घर फर्किएका छन् ।
पहिला दुई–तीनचोटि पोजिटिभ आएर पनि कारवाहीबाट बच्दै आएका पाइलट हुन् दीपक । अहिले पूर्णचन्द्रको कानमा कुरा परेपछि श्रीलंका उड्न लागेका दीपक फर्किनासाथ कारवाहीमा परेका हुन् । सेनाले उनीसहित अन्य ६०–७० जनाको सरप्राइज युरिन चेक गरेको थियो । बनस्थली निवासी दीपकसहित पाइलटहरू समुन्द्र गुरुङ र निरज न्यौपानेमाथि शंका लागेपछि पहिला पनि पिसाब जाँच भएको हो ।
दीपक नेपाल वायुसेवा निगमका पूर्वक्याप्टेन शुक्रराज (एस) समशेर राणाको अभिभावकत्वमा हुर्किएका पाइलट हुन् । पाइलट तालिमकै बेला वीरगञ्जमा लागुऔषधसहित पक्राउ परेका थिए । त्यसबेला मामाले जिम्मा लिने भएपछि छुटे । नेपालमै उत्पादित पहिलो लटका ६ जनामध्येका हेलिकोप्टर पाइलट दीपकको बानी खराब हुनाले उनलाई अर्को सिनियर पाइलटबिना हेलिकोप्टर उडाउने अनुमति थिएन ।
काखा–पाखा
एकतारे जर्नेल सागर केसीलाई दुई तारे बनाउने प्रक्रिया शुरु भएको छ । उता, सोभिन अधिकारीले हायर कमाण्ड कोर्षबिनै ब्रिगेडियरको फुली टल्काउन थालिसके । अर्का छन्, शिशिर केसी । उनले हायर कमाण्ड गरे, तर स्टाफ कलेज बिगारे पनि ब्रिगेडियर बन्ने मौका पाए । तर, प्रहरीका पूर्वआइजी रमेश चन्दका भाइ राजेश भने पछि परेका छन् । उनको स्टाफ कलेजमा चार्ली रिजल्ट आएको थियो । त्यसलाई आधार मानेर सैनिक ऐनबमोजिम ‘पदावधि थप नगरिएको’ भनिएपछि उनले अब बढुवा र जागिर दुबै गुमाउनुपर्ने स्थिति आएको छ । तर, राजेशकै स्थितिका शिशिर भने आरामसँग ब्रिगेडियर बन्न सफल भएका छन् । लमजुङ, सुन्दरबजार, खत्रीठाँटीका हुनुको कारणले उनीमाथि प्रधानसेनापतिको दया–दृष्टि परेको चर्चा गरिँदैछ ।
अर्का जर्नेल छन्, ‘नेताहरूलाई गोली हान्छु’ भन्ने र मुखमा जहिल्यै ‘मा…,मु…’ झुण्डिएका रघु भण्डारी । उनलाई जागिर सकिएपछि करारमा राष्ट्रिय सेवा दलमा पठाइएको छ । रायमाझीकी छोरी विवाह गरेको आधारमा साढु नाता पर्नाले पूर्णचन्द्रले त्यस्तो गरेको आरोप छ । अब उनले अझै तीन वर्ष, अर्थात्, उमेर ६० हुन्जेल त्यहाँ विद्यार्थीलाई नैतिक शिक्षा पढाउने गुरुबाको रुपमा काम गर्न पाउँछन् ।
तेस्रोको जय
छाउनी अस्पतालमा वरियताका तेस्रो ब्रिगेडियर जर्नेलको हाकिम बन्ने पालो आएको छ । जंगी अड्डाले देवेन्द्र केसीलाई कायममुकायम मुकर्रर गरेको हो । वरियताको पहिलो नम्बरमा रहेका अरुण न्यौपाने र दोस्रो नम्बरका देवेन्द्र केसीबीच गत वर्ष वार्षिकोत्सवको समयमा मुख छाडाछाड भएपछि दुबैमाथि कोर्ट अफ इन्क्वायरी चलेको थियो । यस्तो हुँदा तेस्रो वरियताका नागेन्द्र केसी प्रमुख भए । सेनामा जागिर खान पाइने उमेर कटेर १० दिन बढी भएपछि भर्ना भएका नागेन्द्र गत कात्तिकमा पदावधि सिध्याएर घर गएका छन् । यीमध्ये देवेन्द्र मुटुका, अरुण बच्चाहरूको र नागेन्द्र बेहोस पार्ने डाक्टर हुन् । (जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार