free website hit counter

कस्तो छ बीमा कम्पनीहरुको अवस्था ?

beemaadmin
२०७७ बैशाख २९, सोमबार

काठमाडौं । विषम परिस्थिति बीचमा पनि बीमा कम्पनीहले तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले सबै व्यापार व्यवसायलाई धरासायी बनाउँदा पनि बीमा व्यवसायलाई भनै खासै असर पुर्याएको छैन । जोखिम बहन गर्ने व्यवाय भएका कारण जोखिम बढ्दैमा व्यवसाय धरासायी नहुने व्यवसायीहरुले बताइरहेका छन् ।
सार्वजनिक वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८३ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिन्छ । १९ जीवन बीमा कम्पनीहरुबाट ६३ अर्ब ९५ करोड र राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ निर्जीवन बीमा कम्पनीहरुबाट १९ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । चालु आर्थिक वर्षको नौं महिनाको रिपोर्टअनुसार जीवन बीमातर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स अग्रता कायमै छ । नौ महिनाको यस अवधिमा नेपाल लाइफले १८ अर्ब ७० करोड र शिखर इन्स्योरेन्सले २ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट ६३ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले १८ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिन्छ । यो जीवन बीमा अन्र्तगत संकलन भएको कुल बीमा शुल्कको २९.२४ प्रतिशत हो । यस्तै एलआईसी नेपालले पनि १६.२३ प्रतिशत अर्थात १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी राष्टिय बीमा संस्थानले ६ अर्ब ५० करोड, नेशनल लाइफले ५ अर्ब ६४ करोड, मेट लाइफले ३ अर्ब ४० करोड रुपैयाँ बराबरो कुल बीमा शुल्क आर्जन गरेको छ ।
नयाँ जीवन बीमा कम्पनी मध्येका युनियन लाइफ इनस्योरेन्सले भने पुराना कम्पनीहरुलाई समेत उछिनेर ३ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । युनियनले पुराना एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफलाई कुल बीमाशुल्क आर्जनमा उछिनेको हो । एशियन लाइफले ३ अर्ब १० करोड, प्राइम लाइफले २ अर्ब २१ करोड, सूर्या लाइफले १ अर्ब ८५ करोड, र गुराँस लाइफले १ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १ अर्ब २७ करोड, रिलायबल लाइफ नेपालले १ अर्ब २५ करोड र ज्योति लाइफले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । बाँकी नयाँ जीवन बीमा कम्पनीहरुले कुल बीमाशुल्क अर्ब कटाउन सकेका छैनन् । सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।
यसैगरी निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्ममा १९ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमाशुल्क आर्जन गरेका हुन्। बीमा समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुबाट संकलन भएको कुल बीमाशुल्कको १३.३३ प्रतिशत हो । यस्तै, सगरमाथाले १ अर्ब ७० करोड, नेकोले १ अर्ब ६२ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५० करोड, एनएलजीले १ अर्ब ३१ करोड, प्रिमियरले १ अर्ब ३० करोड र प्रभु इन्स्योरेन्सले १ अबए ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । बाँकी कुनैपनि बीमा कम्पनीको कुल बीमाशुल्क अर्ब नाघ्न सकेको छैन् ।
नयाँ संचालनमा रहेका अजोड इन्स्योरेन्सले ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो पुरानो संचालनमा रहेका युनाइटेड इन्स्यारेन्सको भन्दा ७ करोड रुपैयाँ बढी हो । युनाइटेड इन्स्योरेन्सले ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले २६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ ।

सम्बन्धित समाचार