free website hit counter

काभ्रेमा बर्डफ्लुको प्रकोप, ४० हजारभन्दा बढी हाँस–कुखुरा नष्ट

beemaadmin
२०८३ असार १६, मंगलवार

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा बर्डफ्लु सङ्क्रमण फैलिँदा हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स कुखुरा नष्ट गरिएको छ। केही सातायता व्यावसायिक पोल्ट्री फार्ममा धमाधम कुखुरा मर्न थालेपछि सङ्क्रमण नियन्त्रणका लागि ४० हजार ७२९ वटा हाँस तथा कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का विभिन्न पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि संक्रमित पक्षी नष्ट गरिएको हो।

Advertisement
Advertisement

उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

Advertisement
Advertisement

सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा कुखुरा ओसारपसारमा कडाइ गरिएको कार्यालयले जनाएको छ। प्रयोगशाला परीक्षणको नतिजा ढिलो आउँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसकेको र त्यसले सङ्क्रमणको दर बढाउन सहयोग पुगेको बताइएको छ।

डा. ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन्। उनले खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा सरसफाइका सबै मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा कुखुरा ओसारपसार हुन नदिन निगरानी र नियन्त्रण कडा पारिएको कार्यालयले जनाएको छ।

यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लुको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो। देशका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि सम्भावित जोखिम रोक्न सुरक्षा उपायहरू थप कडा पारिएको थियो।

सम्बन्धित समाचार