free website hit counter

के हो तपाईंको व्यवसाय, आज खुल्छ कि खुल्दैन ? (सूचिसहित)

beemaadmin
२०७७ भाद्र २५, बिहीबार

काठमाडौँ । लकडाउन त खुकुलो भयो तर आज तपाईंको व्यवसाय चल्छ कि चल्दैन भन्ने अन्योल छ भने हामीले यहाँ सरकारले तोकेको मापदण्ड अनुसार कुन बार, कति बजे कुन पसल तथा व्यापार व्यवसायउ गर्न पाइन्छ भन्ने विषयमा जानकारी दिएका छौं । आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो भएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको हो । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै जाने निर्णय गरेको हो । निषेधाज्ञा थप खुकुलो भएपछि भदौ ३१ गते मध्यरातसम्मका लागि यस्ता निर्णयहरु भएका छन् ।
जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।
यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखी चलाउन सकिनेछ । यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ । यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।
यसैगरी, उपत्यकामा पसल व्यवसाय सञ्चालन गर्न बार तोकिएको छ । जसअनुसार अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने निर्णय प्रशासनको छ । यस्तै खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछा मासु, विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।
यस्तै निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ भने टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पूरा गरी मध्यान्ह १२ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।
यस्तै, सहकारी संस्थाहरु बिहान ११ देखि ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ भने भाँडा र भान्साजन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ ।
यस्तै फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलोक्ट्रोनिक र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । यस्तै सवारीसाधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ देखि राति ८ बजेसम्म खोल्न सकिनेछ ।

यस्ताे छ सूचना

सम्बन्धित समाचार