काठमाडौं । बीमा व्यवसायीका लागि घाँटीमा अड्किएको हड्डी बनेको कोरोना बीमाको दाबी भुक्तानी अझै सहज हुन सकेको छैन । यसले समग्र बीमा व्यवसायमाथि नै प्रश्न उठाइरहेको छ । कोरोना बीमाको दाबी हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको परेको छ । समितिको पछिल्लो तथ्यांक अनुसार १ लाख ५९ हजार २२५ वटा दाबी वापत १४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको हो । त्यसमध्ये पुल मार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ७८ लाख रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको समितिले जनाएको छ । त्यस अनुसार अझै १० अर्ब १५ करोड १४ लाख रुपैयाँ कोरोना बीमा दाबी वापत भुक्तानी गर्न बाँकी छ । कोरोना बीमा मापदण्ड अनुसार भने नेपाल सरकारले ११ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ निकासा गर्नुपर्नेछ । १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी गरी एक अर्ब ५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
समितिले अर्थमन्त्रालयसँग समन्वय गरी कोरोना बीमाको दाबी भुक्तानी विषयलाई निकासा दिने भएको छ । समितिले अर्थमन्त्रालयमा राय तथा सुझाव पेश गर्दै दाबी भुक्तानी दिने तयारी थालेको हो । कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा समितिले राय तथा सुझाव अर्थमन्त्रालयमा पठाएको छ । समितिले छिटै दाबी भुक्तानीको निकासा हुने गरी सुझाव पेश गरेको समितिले जनाएको छ । सरकारलाई आर्थिक भार पर्ने भन्दै कोरोना बीमाको दाबी भुक्तानी गर्न रकम विनियोजन गर्न अर्थमन्त्रालयले आलटाल गर्दै आएको छ । सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानी गर्न चौतर्फी दवाब परेपछि मन्त्री जनार्दन शर्माले बीमा समितिका पदाधिकारीहरुसँग असोज १३ गते छलफल गरेका थिए । उक्त छलफलमा मन्त्री शर्माले कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपाय सुझाउन समितिलाई निर्देशन दिएका थिए ।