काठमाडौं । कोरोना संक्रमणको जोखिम बहन गर्ने गरी थालिएको कोरोना बीमाको दाबी भुक्तानी दिने प्रक्रिया द्रूत गतिमा अघि बढाए पनि अझै आधा बीमिलते भुक्तानी पाउन सकेका छैनन् । कोरोना बीमाको मागदाबी भुक्तानीका लागि साढे २ अर्ब खर्च भएको छ । पुस मसान्तसम्म बीमा पुल व्यवस्थापकले बीमितलाई २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको बीमा समितिले जनाएको छ । समितिका अनुसार यो रकम २५ हजार ३ सय १३ जनाले पाएका छन् ।
हालसम्म ५१ हजार ७ सय १७ जनाले भुक्तानीका लागि मागदाबी गरेका छन् । त्यसमध्ये हालसम्म आधा भन्दा कम बीमितले मात्रै भुक्तानी पाउँदा सो बराबरको रकम खर्च भएको हो । कुल मागदाबी र भुक्तानीको आधारमा सो बीमाका लागि ५ अर्बभन्दा बढी खर्च लाग्ने देखिएको छ । कोरोना बीमाकोे भुक्तानीका लागि करिब ४ अर्बसम्मको भुक्तानी मात्रै सरकारको अनुदानबिना सम्भव हुन्छ । २० वटा निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी समेत गरी यो बीमाको भुक्तानीका लागि २ अर्ब रुपैयाँ जुटाउने सहमति गरिएको थियो । यो रकम संकलित प्रिमियम रकम समेतको हो । हालसम्म यो सबै भुक्तानी भइसकेको छ । महाविपत्ति कोषमा भएको रकम समेत खर्च भएर सकिने अवस्थामा पुगेको छ ।
कोरोना बीमाको दाबी भुक्तानीका लागि निजी क्षेत्रबाट प्राप्त हुने स्रोत सकिने चरणमा पुगिसकेको छ । अब गर्ने भुक्तानीका लागि सरकारी स्रोतकै प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ ।
पहिलो १ अर्बका लागि बीमा समितिले बीमा कम्पनीले बीमा शुल्कबापत संकलन गरेको रकमको रोयल्टीस्वरुप जम्मा भएको कोषबाट खर्च गर्ने व्यवस्था गरेको छ । यो रकम समेत गरी पौने ४ अर्ब रुपैंया बराबरको रकम जुट्ने बीमा समितिको अनुमान छ । अहिलेको मागदाबी अनुसार त्यति रकमले पुग्ने अवस्था नभएकोले दाबी भुक्तानीका लागि सरकारकै भर पर्नुपर्ने अवस्था आएको छ ।