काठमाडौं । दायित्व र पुँजी बराबर भएपछि एक रात रोकिएको कोरोना बीमा फेरि शुचारु छ । कोरोना संक्रमितको संख्या बढेसँगै व्यवसायीले मोडल परिवर्तनका लागि समितिलाई आग्रह गरेपछि समितिले दायित्व बहनको जोखिम पनि व्यवस्थापन गरिसकेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बीमा कार्यक्रमअन्तर्गत् पहिलो पटक दाबी भुक्तानी परेको छ । कोरोना भाइरस (कोभिड १९) को समयमा आएको कोरोना बीमाको पहिलो दाबी शुक्रबार भुक्तानी भएको हो । कोरोना बीमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बीमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको छ । नेको इन्स्योरेन्सले शुक्रबार कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको हो । बीमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । बीमा गरेका जो कोहीलाई पनि १५ दिनपछि (पीसीआर) पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी हुने व्यवस्था छ ।