काठमाडौं । खाद्यान्य बाली बीमालेख जारी भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले फागुन १८ गतेको निर्णय अनुसार हाल प्रचलनमा रहेका धान बाली बीमालेख (लागत) र चैतेधान बाली (सामुहिक) बीमालेख (उत्पादन) मा रहेका व्यवस्थाहरु यहि खाद्यान्य बालीले समेट्ने गरी खाद्यान्य बाली बीमालेख जारी गरिएको प्राधिकरणले जनाएको छ । खाद्यान्य बालीमा बीमा अवधि भित्र अग्नीजन्य, हावाजन्य, पानीजन्य, मौसामजन्य, भुमिजन्य, चट्याङ्जन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको खाद्यान्य बाली बीमालेखले रक्षावरण गर्दछ । बीमा अवधिमा बीमितको आत्महत्या बाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुबै हातको नाडिदेखि माथि पुरै हात काम नलाग्ने भएमा, एक वा दुबै खुट्टाको गोलीगाँठो देखिमाथि काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा २ लाख रुपैयाँ बीमितले भुक्तानी पाउनेछन् ।
यस बीमालेख अनुसार खाद्यान्य बालीबाट भएको क्षतिको कारणबाट हुने अन्य अप्रत्यक्ष क्षति, अधिकार प्राप्त निकायबाट पुर्याएको क्षति, विकिरणयुक्त पदार्थबाट भएको क्षति, आणविक, रासायनिक तथा जैविक हतिबाटको प्रयोगबाट भएको क्षति र युद्ध वा युद्ध सरहको अवस्थामा भएको क्षतिको क्षतिपूर्ति भने बीमा कम्पनीले प्रदान नगर्ने जनाएको छ।