काठमाडौं । सत्ता गठबन्धनलाई नै धर्मराउने अवस्थामा पुर्याएको गभर्नर नियुक्तिको प्रक्रियाले बल्ल पूर्णता पाएको छ । एक महिना रमिता देखाएको सरकारले अन्ततः काँग्रेसकै सिफारिशमा गभर्नर नियुक्त गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मन्त्रालय अन्तर्गतको गभर्नर नियुक्तिमा अत्तो थापे पनि काँग्रेस सभापति देउवाको अडानकै कारण प्रम ओली पछि हट्न बाध्य भएका हुन् । डा. आरजु राणाद्धारा प्रस्तुत डा। विश्व पौडेललाई गभर्नर बनाउन सोही पार्टीका दुई प्रभावशाली व्यवसायी विनोद चौधरी र उमेश श्रेष्ठको ठूलो भूमिका छ । चौधरी कांग्रेसका केन्द्रीय सदस्य र साँसद समेत हुन भने श्रेष्ठ कांग्रेसका कोषाध्यक्ष पनि हुन् । चौधरीले यसअघि उनको लगानी रहेको नविल बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगानालाई गभर्नरको लागि अघि सारेको चर्चा चले पनि वास्तवमा ढुंगानालाई बैंकबाट विदा गर्ने उद्देश्य मात्रै रहेको देखिन्छ । गभर्नरका लागि तीन जनाको नाम सिफारिस हुँदा ज्ञानेन्द्र ढुंगाना नपर्नुले पनि सो कुरालाई पुष्टि गर्दछ । विनोद चौधरीले इमान्दारितापूर्वक चाहेको व्यक्तिलाई गभर्नर बनाउन कठिनाई हुँदैन् । गभर्नरका लागि कांग्रेसले प्रस्तुत गर्ने भएपछि डा। विश्व पौडेल चौधरी र श्रेष्ठलाई भेट्न निवासमै समेत पुगेका थिए । उमेश श्रेष्ठको घर पुग्दा पौडेलले रत्ननगर नगरपालिकाका मेयरलाई समेत सँगै लिएर गएका थिए । दुवै व्यवसायीले कांग्रेसभित्र मात्रै नभएर एमालेभित्र समेत पौडेलको पक्षमा अनुकुल वातावरण बनाउन लबिङ गरेको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले नीलम ढुंगानाको हात छोड्नुले पनि चौधरी, श्रेष्ठलगायतका व्यवसायीहरुको लबिङले भूमिका खेलेको देखिन्छ । डा. नीलम ढुंगानाको पक्षमा सकारात्मक रहँदै आएका प्रभावशाली व्यवसायी दीपक भट्टले पनि उनको पक्षमा दह्रो अडान नलिएको आजको मन्त्रिपरिषदको निर्णयले देखिन्छ । कांग्रेसको राजनीतिमा पनि सक्रिय पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग भारी मतले पराजित भएका थिए । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आर्थिक सल्लाहकार भइसकेका पौडेलले अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् । चितवनको साधारण परिवारमा जन्मिएका पौडेलका बाबु साधुराम गाईभैंसीको व्यापार गर्थे । साधुरामले बिहानै गाइभैंसी खरीद गरी टाँडी बजारमा बिक्री गरेर विश्व पौडेललाई पढाएका हुन् । । चीनबाट इन्जिनियरिङमा स्नातक गरेपछि विश्व पौडेल अर्थशास्त्र अध्ययन गर्न अमेरिका पुगेका थिए । काठमाडौं विश्लविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक पौडेल यसअघि सानिमा बैंकका सञ्चालक समेत रहेका थिए । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपाल’ को कार्यालयमा अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको सल्लाहकारका रूपमा पनि काम गरिसकेका उनी ड। आरजु राणाको लगानी रहेको युलेन्स स्कुलका बोर्ड अफ ट्रस्टीसमेत रहिसकेका छन् । विनोद चौधरीले पौडेललाई नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकार समेत बनाएका थिए ।