काठमाडौं – ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु वर्षको पहिलो ९ महिना (चैतसम्म) उक्त नाफा आर्जन भएको हो।
यद्यपि, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफामा कमी आउनुको मुख्य कारण ब्याज आम्दानीमा आएको गिरावट हो। गत वर्षको सोही अवधिमा १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष भने ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ मात्र ब्याज आम्दानी गर्न सकेको छ।
हाल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ २६ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। सकारात्मक पक्ष भनेको बैंकको खराब कर्जा अनुपातमा सुधार देखिएको छ, जुन घटेर ०.६९ प्रतिशतमा झरेको छ।
त्यस्तै, बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी १५.४० रुपैयाँ कायम भएको छ।