free website hit counter

चुक्ता पुँजी वृद्धिको प्रयास पनि नगर्ने बीमक कारबाहीको भागिदार

beemaadmin
२०८० श्रावण २, मंगलवार

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको निर्णयसँगै बीमकहरु एकापसभा गाभिनेक्रम मात्रै शुरु भएको छैन पुँजी वृद्धिका अरु उपाय पनि अपनाउका छन् । तर अलिहेसम्म जम्मा सात बीमकले मात्रै तोकिएको चुक्ता पुँजी पुर्याउन सफल भएका छन् । चुक्ता पुँजी वृद्धिको लागि प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई हकप्रद र बोनसबाट पुँजी पुर्‍याउन दिन प्राधिकरण लचिलो भएको छ । तर पुँजी वृद्धिको लागि कुनै पनि प्रयास नै नगर्नेलाई भने कारवाही गर्ने तयारीमा प्राधिकरण छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब न्यूनतम चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । दिइइको समयमा जीवन बीमातर्फका तीन कम्पनी र निर्जीवन बीमा तर्फका चार कम्पनी गरी सात वटा कम्पनीले मात्रै तोकिएको न्यूनतम पुँजी पुर्‍याएका हुन् । सो अनुसार जीवन बीमातर्फबाट नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले पुर्‍याएका छन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, नेशनल लाइफको ५ अर्ब एक करोड र मर्जपछि बनेको हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स चुक्ता पुँजीमा जीवन बीमा कम्पनीमध्येकै दोश्रो बन्न सफल भएको छ ।

निर्जीवन बीमा तर्फबाट शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तोकिएको समयभित्रै चुक्ता पुँजी पुर्‍याउन सफल भएका छन् । यीमध्ये हालै मर्जरमा गई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक अर्थात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । न्यूनतम पुँजी नपुर्याउनेमा अन्य १० वटा जीवन र ८ वटा निर्जीवन गरी १८ वटा बीमा कम्पनी रहेका छन् । यीमध्ये केहीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् भने केहीले कुनै पनि विकल्प शुरु गरेका छैनन् । मर्जरको विकल्प रोजेर पनि पुँजी नपुर्‍याउनेमा जीवन बीमा तर्फका ३ र निर्जीवन बीमा तर्फका तीन गरी ६ वटा कम्पनी रहेका छन् । जसमा जीवन बीमातर्फका सूर्यज्याति लाइफ (साविकको सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ (साविकको सानिमा लाइफ र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ (साविकका प्रभु लाइफ र ज्योति लाइफ) रहेका छन् । यता निर्जीवन बीमा तर्फका हिमालयन एभरेष्ट (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स), सानिमा जिआईसी (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) र युनाइटेड अजोड इन्स्योरेन्स (साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स) रहेका छन् ।

सम्बन्धित समाचार