free website hit counter

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय बढ्यो, ७ अर्ब ९६ करोड बीमाशुल्क संकलन

beemaadmin
२०८३ आश्विन २५, आईतवार

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म ७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको नयाँ व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले समीक्षा अवधिमा ७ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन्।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को भदौसम्म जीवन बीमा कम्पनीहरूले ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। यसअनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय २१.८२ प्रतिशतले बढेको छ।

Advertisement
Advertisement

नयाँ व्यवसायका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने व्यवसाय वृद्धिदरका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ। समीक्षा अवधिमा १४ मध्ये १३ वटा कम्पनीको प्रथम बीमाशुल्क बढेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको घटेको छ।

Advertisement
Advertisement

नेपाल लाइफको प्रथम बीमाशुल्क २ अर्बभन्दा बढी

चालु आर्थिक वर्षको भदौसम्म नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ९ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ संकलन गरेको थियो। यसअनुसार कम्पनीको नयाँ व्यवसाय १३.३८ प्रतिशतले बढेको छ।

दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको भदौसम्म कम्पनीले ९२ करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो। यस अवधिमा कम्पनीको नयाँ व्यवसाय २३.४० प्रतिशतले बढेको छ।

तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५९ करोड २८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ४१ करोड ५३ लाख रुपैयाँ संकलन गरेको थियो। यसअनुसार कम्पनीको नयाँ व्यवसाय ४२.७२ प्रतिशतले बढेको छ।

आइएमई लाइफको व्यवसाय ५३ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले ५२ करोड ७४ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले ५० करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले ४५ करोड ७२ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले ४४ करोड ६ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

अघिल्लो वर्षको यही अवधिको तुलनामा सिटिजन लाइफको नयाँ व्यवसाय १९.१२ प्रतिशत, एलआईसी नेपालको ६.२२ प्रतिशत, हिमालयन लाइफको २१.४० प्रतिशत, आइएमई लाइफको ५३.२६ प्रतिशत र रिलायबल नेपाल लाइफको ३७.१४ प्रतिशतले बढेको छ।

सन नेपाल लाइफको वृद्धिदर उच्च

चालु आर्थिक वर्षको भदौसम्म एसियन लाइफ इन्स्योरेन्सले ३९ करोड २३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३४ करोड १८ लाख रुपैयाँ, मेटलाइफले ३० करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २९ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले २६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले २० करोड ५९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

प्राधिकरणको विवरणअनुसार समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक अन्य सबै कम्पनीको नयाँ व्यवसाय बढेको छ। समग्रमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्कमा भएको वृद्धिले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नयाँ बीमा व्यवसाय विस्तार भएको देखाउँछ।

सम्बन्धित समाचार