काठमाडौं । चाडपर्वका बेला एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाइने व्यवस्था लागू हुने भएको छ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यस्तो व्यवस्था कार्यान्वयन गर्ने सहमति भएको हो। यसअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर तोकिएका बिक्री केन्द्रमा बुझाएर उपलब्ध अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साटेबापत उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका उपभोक्तालाई लक्षित गरी उपत्यकाका विभिन्न स्थानमा चारदेखि पाँचवटा साझा बिक्री केन्द्र सञ्चालन गरिनेछ।
अध्यक्ष चन्दले नेपाल आयल निगमसँगको छलफलपछि सिलिन्डर साटासाट गर्ने विषयमा संयुक्त निर्णय भइसकेको जानकारी दिएका छन्। उपत्यकामा बिक्री हुने सबै ब्रान्डका सिलिन्डरलाई यो व्यवस्थामा समेटिने उनको भनाइ छ।
संघले प्रारम्भिक रूपमा उपत्यकाका विभिन्न क्षेत्रमा पाँचवटा बिक्री केन्द्र तोकेको छ। जसअनुसार बालाजुस्थित नेपाल ग्यासको आउटलेट, सीतापाइलास्थित एभरेस्ट र सुगम ग्यासका केन्द्र, सुकेधारास्थित बाबा ग्यासको बिक्री केन्द्र तथा पेप्सीकोलास्थित सगर ग्यासको आउटलेटमा सिलिन्डर साट्न सकिनेछ।
त्यस्तै, ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको केन्द्रलाई पनि सम्भावित बिक्री केन्द्रका रूपमा राखिएको छ। उपभोक्ताको चाप र आवश्यकताका आधारमा थप स्थानमा समेत यस्तो सेवा विस्तार गर्न सकिने संघले जनाएको छ।
यसअघि नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले चाडपर्वका बेला घरमा एक–दुईवटा सिलिन्डर मात्र हुने उपभोक्ताले ग्यास नपाएर सास्ती भोग्न नपरोस् भन्दै उद्योगीहरूलाई सहज आपूर्तिको उपाय खोज्न आग्रह गरेका थिए।
पछिल्लो समय अविरल वर्षा, बाढीपहिरो तथा सार्वजनिक बिदाका कारण काठमाडौं उपत्यकामा ग्यास वितरणमा केही असहजता देखिएपछि उद्योगीहरूले साझा संयन्त्रमार्फत सिलिन्डर साटासाट गर्ने व्यवस्था अघि बढाएका हुन्।
साझा बिक्री केन्द्रमा संकलन भएका विभिन्न कम्पनीका खाली सिलिन्डर सम्बन्धित उद्योगहरूले पछि आपसमा साटासाट गर्नेछन्। यसबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको ग्यास तत्काल उपलब्ध नभए पनि अर्को ब्रान्डको सिलिन्डर लिन सक्ने र आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ।