free website hit counter

जेठ २८ देखि सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला

beemaadmin
२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ।

कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यका ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँट सम्पन्न भइसकेको छ। साथै, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको छ।

कम्पनीले कर्मचारीहरूका लागि १७ हजार कित्ता सेयर सुरक्षित राखेको छ। बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर, कुल ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको, सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्न लागिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति असार २ गते तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाएको छ।

सम्बन्धित समाचार