काठमाडौं । कोरोना संक्रमणको अवस्था भयानक रुपमा फैलिन थालेपछि सरकारले फेरि लकडाउन गर्ने या अन्य कुनै उपया अपनाउने भन्ने विषयमा विज्ञहरुसँग छलफल तथा परामर्श गर्न थालेको छ ।
त्यसैको तयारीस्वरुप सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।
त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्यका विज्ञसँग मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्दै छन् । संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले समेत सिसिएमसीमा जोर बिजोरको प्रस्ताव गरेको बताइएको छ । सरकारले पछिल्लो पटक संक्रमणको गतिको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएको छ ।