free website hit counter

ट्रेड टावरको आइपीओ जेठ १४ गतेदेखि आउने

beemaadmin
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्मका लागि लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार