काठमाडौं । ट्रेड टावर लिमिटेडले २०८२ बैशाख ८ गतेदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८।६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९।३० कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको प्रारम्भिक नाम कञ्जनजंघा हाउजिङ लिमिटेड रहेको भए पनि हाल ट्रेड टावरको रूपमा चिनिँदै आएको छ। कम्पनीले काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य संस्थानको जग्गा ३२ वर्षको भाडामा लिएर बनाएको ‘ट्रेड टावर’ नामक व्यावसायिक भवनबाट मुख्य आम्दानी उठाउँदै आएको छ। सो भवन सञ्चालनमा आएको १४ वर्ष भइसकेको छ।त्यसैगरी कम्पनीले ललितपुरको भैंसेपाटीस्थित जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ। यस्तै, गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालनमा ल्याइएको छ, जहाँ ९० वटा लक्जरियस रुम छन्। सो होटलबाट प्राप्त हुने आम्दानी समेत कम्पनीको प्रमुख आम्दानी स्रोत हो।