काठमाडौं । तत्कालका लागि बीमा कम्पनीहरु अख्तियारको दायराभित्र नपर्ने भएका छन् । हाल राष्ट्रिय सभामा रहेको अख्तियार दुरुपयोग अनुसनधान आयोग ऐन २०६६ माथि संशोधन गर्न दर्ता गरिएको विधेयक सोही अवस्थामा रोक्ने नेकपाले निर्णय गरेको जनाइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको बताइएको छ । निजि क्षेत्रबाट सञ्चालित बैंक, बीमा कम्पनी, पब्लिक कम्पनीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा राख्दै सरकारले नयाँ विधेयक अघि बढाए भन्दै व्यवसायीहरुले चर्को विरोध गर्दै आएका थिए । यसअघि सिएनआईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै विरोध जनाएका थिए । चौतर्फी विरोधपछि राष्ट्रिय सभामा अख्तियार सम्बन्धी विधेयकलाई कार्यसूचिबाट हटाइएको थियो । नेकपाको बैठकले सो विधेयक स्थगित गर्ने निर्णय भएको भनिए पनि औपचारिक रुपमा निर्णय भने सार्वजनिक गरिएको छैन ।