free website hit counter

दसैंमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासंघको आग्रह

beemaadmin
२०८३ आश्विन २२, बिहीबार

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं, तिहारलगायत चाडपर्वका समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई आग्रह गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले तोकिएको भाडाभन्दा बढी रकम असुल्ने सवारीसाधनमाथि कारबाही हुने बताएका छन्। उनले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिइएको जानकारी दिए।

सरकारले यस वर्षको दसैंलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभाग, महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भएको समन्वयपछि अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो।

महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ।

यात्रुसँग नम्र व्यवहार गर्ने, सहज रूपमा टिकट उपलब्ध गराउने तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने गरी सेवा सञ्चालन गर्न महासंघले आग्रह गरेको छ।

दसैंको भीड व्यवस्थापनका लागि घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलगाइनेछ।

यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधनमाथि लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ।

काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। महासंघले गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा पनि प्रतिनिधि खटाउने भएको छ।

चाडपर्वको समयमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई समेत प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोंगबु बसपार्कमै निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासंघले जनाएको छ।

सम्बन्धित समाचार