free website hit counter

दोलखा भीमसेनको महाप्रसाद राष्ट्रपतिलाई

beemaadmin
२०७६ फाल्गुन १०, शनिबार

काठमाडौं । दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि केही अनिष्ठ हुन्छे भन्ने मान्यता रही आएको छ । राजतन्त्र रहेको बेला भीमसेनमा पसिना आएपछि राजाबाटै विशेष पूजाआजा हुने गरेको थियो । दोलखा भीमसेनको  परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी छिन् । भीमेश्‍वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा पुर्‍याएका थिए ।

भीमेश्वर नगरपालिका– २ का वडाध्यक्ष बिराजमान श्रेष्ठसहितको टोलीले दिएको प्रसादलाई राष्ट्रपति भण्डारीले ग्रहण गरेकी हुन् । किस्तीमा बिछ्याइएको रातो रुमालमाथि चाँदीको भाँडोभित्र राखिएको कपास, करुवामा राखिएको जल, विभिन्न रंगका टीका र फूल राखेर गुठियार शैलेन्द्र जोशी र सुरेश श्रेष्ठले राष्ट्रपतिलाई दिएका थिए । राष्ट्रपति भण्डारीले कपास हातमा लिँदै टीका लगाएपछि भनिन्, २०७४ सालमा ल्याइएको कपासका टुक्रा अझै सुरक्षित छ ।’

विक्रम संवत् १९९० सालयता पसिना आएपछि लगातार राष्ट्रप्रमुखहरुलाई यसरी नै महाप्रसाद ल्याउने परम्परा छ । राष्ट्रपति भण्डारीले दोलखा बजारको ऐतिहासिक, साँस्कृतिक पक्ष र परम्परागत मूल्यमान्यतालाई जोगाइराख्ने सकिने उपायहरुबारे जिज्ञासा राखेकी थिइन् । भीमेश्वर पूजा व्यवस्थापन समितिको निर्णयअनुसार महाप्रसाद लिएर आउने समूहका शान्तकृष्ण श्रेष्ठ, ज्ञानेन्द्र प्रधान र राजेन्द्रनारायण श्रेष्ठले भीमेश्वरमा पसिना आउने प्रसंगबारे राष्ट्रपतिलाई प्रस्ट पारेका थिए ।

सम्बन्धित समाचार