free website hit counter

धितोपत्र बोर्डको अध्यक्षमा पर्यो १५ जनाको आवेदन

beemaadmin
२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौ । सर्ट लिष्ट तयार भइसकेपछि राजनीतिक स्वार्थका कारण फेरि आग आवेदन भएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा १५ जनाले आवेदन दिएका छन्। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोटले दोस्रोपटक गत पुस १५ गते आवेदन खुलाएको थियो। आवेदन दिने म्याद आज पुस २९ गतेसम्म रहेको थियो। निर्धारित समयसम्म अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन पेस गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक डा। नवराज अधिकारी, बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट र नेपाल स्टक एक्सचेन्ज नेप्सेका पूर्वसीईओ सीताराम थपलियाले आवेदन पेस गरेका छन्।
त्यस्तै सेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, हेमन्त बस्याल, रमेश हमाल, जीवन अम्गाईं, अम्बिका शर्मा लामिछाने, अनिल पौडेल, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएका छन्। यसअघि समितिले आवेदन माग गर्दा ११ जनाले अध्यक्षका लागि दरखास्त दिएका थिए। छनोट समितिमा विवादमा परेपछि धितोपत्र बोर्डको अध्यक्षका पुनः आवेदन माग गरिएको हो।
दोस्रोपटक प्राप्त आवेदनलाई अध्ययन गरी अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनोट समितिले बोलाउनेछ। त्यसपछि ३ जनाको नाम छनोट गरी समितिले सरकारसमक्ष सिफारिस गर्नेछ। समितिले सिफारिस गरेकामध्येबाट एकजनालाई मन्त्रिपरिषद बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ। गत असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो। सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत गलत ढंगले खरीद गरेको, ५१ वटा कम्पनीलाई जोखिमयुक्त भन्दै विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेर सूची प्रकाशन गरेको, धितोपत्र बजारमा गैरकानूनी काम गरेको तथा बजार सम्बद्ध विभिन्न पक्षबाट आर्थिक लाभ लिएको लगायतका गम्भीर आरोप उनीमाथि लागेको थियो।
त्यसअघि ढुंगानालाई अर्थमन्त्रालयले निलम्बन गरेको थियो। निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सरकारलाई उनलाई स्पष्टीकरण समेत बुझाएका थिए। तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरी अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। त्यसो त बर्खास्तीमा परेको ढुंगानाले पनि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेका छन्।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार