काठमाडौं । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका तीन सदस्य सिफारिस समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको हो । सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । उक्त समितिले अध्यक्ष पदका लागि प्राप्त निवेदनबाट तीन जनाको नाम छनौटका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।