काठमाडौं । कोरोनाविरुद्ध अग्र मोर्चामा खटिने कर्मचारीको सुरक्षाका लागि संघ, प्रदेश र स्थानीय तहले छुट्टाछुटै बीमा गरिदिएका छन् । तर काठमाडौंको चन्द्रागिरी नगरपालिकाले भने सबै जनप्रतिनिधि फिल्डम खट्नु पर्ने भएका कारण जोखिम देखिएको भन्दै सबै जनप्रतिनिधि र कर्मचारीको १० लाख बराबरको बीमा गरिदिएको छ । चन्द्रागिरि नगरपालिकाले कोभिड १९ संक्रमण, रोकथाम र नियन्त्रणमा खटिएको भन्दै जनप्रतिनिधिको पनि स्वास्थ्य बिमा गरेको हो । सोमबारदेखि लागु हुने गरी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र एम्बुलेन्स चालकको प्रतिव्यक्ति दश लाखको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय बीमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बीमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् । बीमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख बराबरको सामूहिक दुर्घटना बीमा, एक लाख बराबरको औषधोपचार बीमा, दुई लाख बराबरको घातक रोग बीमा र एक लाख बराबरको कोभिड १९ रोग बीमा समावेश गरी बीमा गरिएको उनले जानकारी दिए । गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो ।