free website hit counter

नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ कार्तिक १६, आईतवार

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४५.४५ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष समीक्षा अवधिमा बैंकको नाफा ७९ करोड ८२ लाख रुपैयाँले बढेको देखिन्छ।

Advertisement
Advertisement

बैंकको नाफा वृद्धिमा सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइने रकममा आएको कमीले महत्वपूर्ण योगदान गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर १६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकको सम्भावित कर्जा नोक्सानीको दबाब घटेको संकेत गर्छ।

Advertisement
Advertisement

यसैगरी, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ९० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी ७९ करोड ८७ लाख रुपैयाँबाट बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

बैंकका प्रमुख वित्तीय परिसूचकमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा कायम भएको छ।

बैंकले समीक्षा अवधिसम्म ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लगानीकर्ताका लागि वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ। जोखिम व्यवस्थापनतर्फ बैंकको खराब कर्जा अनुपात ४.०६ प्रतिशत र खुद खराब कर्जा अनुपात ०.६३ प्रतिशत रहेको छ। बैंकको पूँजी कोष अनुपात भने ११.६७ प्रतिशत कायम भएको छ।

सम्बन्धित समाचार