free website hit counter

नबिल बैंकको साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश पारित

beemaadmin
२०८३ आश्विन २३, शुक्रबार

काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। लाभांश वितरणका लागि सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएको बैंकले जनाएको छ।

सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ।

खुद नाफा ७ अर्ब ९१ करोड

बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

तीन सञ्चालक निर्विरोध निर्वाचित

साधारणसभाले संस्थापक शेयरधनी समूहबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।

सभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लगिएको बताए। शेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाको हितलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत बैंक सक्रिय रहेको उनको भनाइ थियो।

बैंकका अनुसार नबिलले हाल देशभरका २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको बैंकले पछिल्लो समय डिजिटल तथा दिगो बैंकिङलाई प्राथमिकता दिँदै ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।

बैंकले सन् २०३० सम्म ‘एआई रेडी बैंक’ बन्ने लक्ष्यसमेत अघि सारेको छ। यसका लागि ट्रस्ट (विश्वास), ट्रान्सपरेन्सी (पारदर्शिता), ट्यालेन्ट (प्रतिभा), टेक्नोलोजी (प्रविधि) र ट्रान्सफरमेसन (रूपान्तरण) गरी पाँच ‘टी’मा आधारित अवधारणालाई आफ्नो भिजन तथा मिसनमा समेटेको जनाएको छ।

साधारणसभाको उद्घाटनका अवसरमा बैंकले मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक प्रस्तुतिसमेत आयोजना गरेको थियो। बैंकले सभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार