free website hit counter

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय अवार्ड

beemaadmin
२०८३ श्रावण १०, आईतवार

काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)बाट प्रदान गरिने प्रतिष्ठित ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। उक्त सम्मान भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ कार्यक्रममा बैंकलाई प्रदान गरिएको हो।

बैंकका तर्फबाट सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका थिए। बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ। साथै, यस सम्मानले बैंकिङ सेवा, प्रविधि तथा नवप्रवर्तनलाई अझ प्रभावकारी बनाउँदै लैजान थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु बैंकका लागि गौरवको विषय भएको बताए। उनले बैंकको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण ग्राहक, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

यस अवार्डका लागि नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू प्रतिस्पर्धामा सहभागी भएका थिए।

इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो। भारतका प्रमुख व्यावसायिक समूहहरूको प्रतिनिधित्व गर्ने यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

यसअघि पनि नबिल बैंकले युरोमनी अवार्ड्स फर एक्सेलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ गरी तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि प्राप्त गरेको थियो। बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती सम्मान प्रदान गरिएको जनाइएको छ।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित नबिल बैंकले हाल देशभर २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकभन्दा लामो बैंकिङ अनुभवसहित बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र राष्ट्रिय अर्थतन्त्रको समावेशी तथा दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित समाचार