काठमाडौं । वित्तीय संस्थाहरुलाई मर्जरमा लैजाने नीति लिएको नेपाल राष्ट्र बैंकले नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्नका लागि सहमति दिएको छ। राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्न सहमति दिएको हो। आगामी ६ महिनाभित्र नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार हुने भएको छ। बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले नबिल बैंकले बंगालादेश बैंकलाई गाभ्न अनुमति दिने निर्णय गरेसँगै दुई बैंकबीच एक्विजिसनमा जान बाटो खुलेको हो। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल र बंगलादेश बैंकलाई एक्विजिसनमा जानका लागि सैद्धान्तिक सहमति (एलओआई) दिने निर्णय गरेको बताइएको छ । एलओआई पाएपछि ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था बमोजिम आउँदो ६ महिनाभित्र एकीकृत कारोबार भइसक्ने बताइन्छ । गत पुस २९ गते नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। सहमति अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको थियो। समझदारी पत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि बैंकको प्राथमिक पूँजी ४३ अर्ब, चुक्ता पूँजी २२ अर्ब ५० करोड, कर्जा रकम ३ खर्ब र निक्षेप संकलन ३ खर्ब १४ अर्ब हुने जानकारी प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षरपछि गराएको थियो। त्यसैगरी, शाखा संख्या २५३ पुग्ने र ग्राहकको संख्या १६ लाख माथि हुने जानकारी गराइएको थियो।