काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपमा हल्का गिरावट देखिएको छ। चैतको तुलनामा व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा औसत ब्याजदर घटेको हो।
चैत महिनामा व्यक्तिगत निक्षेपमा औसत ४.४९ प्रतिशत ब्याजदर रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा पुगेको छ। त्यस्तै, संस्थागत निक्षेपतर्फ चैतको ३.२९ प्रतिशतबाट घटेर वैशाखमा ३.२३ प्रतिशत कायम भएको छ।
बैंकअनुसार हेर्दा केहीले ब्याजदर घटाएका छन् भने केहीले यथावत् राखेका छन्। सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपमा क्रमशः ०.३५ र ०.२० प्रतिशतले कमी गरेका छन्। हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा ०.५० प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ।
नबिल बैंकले संस्थागत निक्षेपमा ०.५४ प्रतिशतले ब्याजदर घटाएको छ। एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतले कमी गरेका छन्। सिद्धार्थ बैंकमा भने व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशतले गिरावट आएको छ।
यद्यपि, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले भने दुवै प्रकारका निक्षेपमा ब्याजदर यथावत् राखेका छन्।