काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ। यो सुविधामार्फत राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एप प्रयोगकर्ताले सहज रूपमा बैंकमा बचत खाता खोल्न सक्नेछन्।
बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल आइएमई बैंकको अनलाइन प्रणालीमा प्रवेश गरेर व्यक्तिगत बचत खाताका लागि आवेदन दिन सक्नेछन्।
यो सेवा नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकले अनलाइनबाटै खाता खोल्न सक्ने व्यवस्था गरिएको छ।
खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वस्वीकृतिपछि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसले व्यक्तिगत विवरण पुनः भर्नुपर्ने झन्झट हटाउनुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षालाई पनि सुनिश्चित गर्ने बैंकको विश्वास छ।
नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न भने ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भई वा भिडियो केवाईसी (KYC) प्रक्रियामार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ।
बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने लक्ष्यका साथ यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने तथा ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।