काठमाण्डौ । बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान गोवास्थित निवासमा उनलाई गम्भीर हृदयाघात भएको थियो। डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरसहित उपचार प्रयास गरे पनि बचाउन सकेनन्। उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो।
उनका छोरा मल्हार पाटेकरले निधनको पुष्टि गरेका छन्। चिकित्सकका अनुसार प्रारम्भिक रूपमा गम्भीर हृदयाघातलाई मृत्युको कारण मानिएको छ। घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको र पोस्टमार्टमपछि मृत्युको कारण थप स्पष्ट हुने जनाइएको छ।
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। सन् १९७८ मा ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’लगायत चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए।
‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार तथा ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका पाटेकरलाई भारत सरकारले सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरेको थियो।