काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३१.४१ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर २२ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेको छ भने जगेडा कोष ०.०७ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ५.८६ प्रतिशत र कर्जा ०.४२ प्रतिशत बढेको छ।