free website hit counter

नेपाल लाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम

beemaadmin
२०८० आश्विन २४, बुधबार

काठमाण्डौ । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सहभागीलाई साक्षर गराउने उद्धेष्यले “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए । उनले निम्न आय भएका व्यक्तिले सेयर बजारमा कसरी पहुँच पुर्‍याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए। त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले सेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा जानकारी दिएका थिए । उनले धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि प्रकाश पारेका थिए । नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ जनाको सहभागिता थियो ।

सम्बन्धित समाचार