काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट विश्वभर २ लाख हाराहारि मानिस मरिसकेका छन् । नेपालले अपनाएको प्रविधि र स्वास्थ्यकर्मीहरुको सक्रियताका कारण नेपालमा अहिलेसम्म शतप्रतिशत कोरोना निको भइरहेको छ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी हुन् । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिएका छन् । अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताइन् ।
बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन ।