काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि रोकिएको डाइभर्सिटी भिसा (डीभी) तथा आप्रवासी भिसा प्रक्रिया पुनः अघि बढाउने भएको छ।
गत जनवरीमा तत्कालीन ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई सरकारी सहायता तथा कल्याणकारी कार्यक्रम (वेलफेयर) मा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै आप्रवासी र डीभी भिसा जारी गर्ने प्रक्रियामा अस्थायी रोक लगाएको थियो।
उक्त निर्णयलाई असंवैधानिक तथा कानुनी अधिकार क्षेत्रबाहिर रहेको भन्दै अदालतले बदर गरेको जनाइएको छ।
अदालतले अमेरिकी विदेश मन्त्रालयलाई आर्थिक वर्ष २०२६ समाप्त हुनुअघि रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिनसमेत निर्देशन दिएको बताइएको छ।
अदालतको आदेशपछि नेपालसहित प्रभावित ७५ देशका नागरिकका लागि डीभी तथा आप्रवासी भिसा प्रक्रिया पुनः सञ्चालन हुने बाटो खुलेको हो। यद्यपि प्रक्रिया कहिलेदेखि पूर्ण रूपमा सञ्चालन हुन्छ भन्ने विषयमा अमेरिकी सम्बन्धित निकायबाट थप स्पष्ट जानकारी आवश्यक छ।