काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै वार्षिक चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न गरेको छ। भैरहवास्थित होटल सिद्धार्थ भिलासामा आयोजित दुई रात तीन दिनको कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै एआई, डिजिटल प्रविधि र सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिइएको थियो।
आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीसहित ५६५ जनाको कार्यक्रममा सहभागिता थियो।
भोटेकोशीमा आएको बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्का कारण घाइते तथा बिरामी भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रमको सुरुवातमा एक मिनेट मौनधारण गरिएको थियो। बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदनासमेत व्यक्त गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन्। उनले कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्तालाई थप व्यवसायिक र दक्ष बनाउने उद्देश्यले सीप तथा क्षमता विकास र व्यवसायिकता अभिवृद्धिमा कम्पनीले निरन्तर सहयोग गर्ने बताइन्। अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण रहेको भन्दै उनले यसका लागि कम्पनीले आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक उपलब्धि समग्र नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए। नयाँ आर्थिक वर्षमा स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च पेशागत प्रतिबद्धताका साथ अघि बढ्दै अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने तथा ग्राहक सेवाको गुणस्तर सुधारमा कम्पनीले जोड दिएको उनले बताए।
कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै व्यक्तिगत तथा सञ्जालगत व्यवसायमा नेपालभर प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई सम्मान गरिएको थियो। समूहगत व्यवसायमा उत्कृष्ट हुने अभिकर्ता, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तालाई पनि विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा अभिकर्ताको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो। नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरणका गतिविधि हुन सक्ने भएकाले शंकास्पद गतिविधिको निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालनामा बीमा व्यवसायसँग सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने बताए।
प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई बीमा व्यवसायमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिएका थिए। उनले ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यवसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको प्रयोग गर्न सकिने सम्भावनाबारे प्रयोगात्मक उदाहरणसहित जानकारी गराए।
त्यस्तै, प्रशिक्षक संजोग कोइरालाले डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए। डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै सत्यतथ्य सूचना र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए। भ्रामक समाचार, गलत सूचना वा गलत भाष्य सिर्जना गर्ने गतिविधिबाट कानुनी जटिलता उत्पन्न हुन सक्ने भएकाले यसतर्फ सजग रहन उनले अभिकर्तालाई आग्रह गरे।
कार्यक्रममा सम्मानित अभिकर्ताहरूले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यवसायिक प्रदर्शन आवश्यक पर्ने बताएका थिए। वर्षभरको मेहनतको परिणामस्वरूप प्राप्त सम्मानले आफ्नो परिश्रमलाई थप सार्थक बनाएको उनीहरूको भनाइ थियो।