काठमाडौं । न्यायाधीशहरू र हिरासतमा रहेका बिचौलिया इनम सापकोटाबीच सम्बन्ध रहेको भनिएका सन्देश सार्वजनिक भएपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) बोलाएका छन्।
शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। प्रधानन्यायाधीश शर्मासहित न्यायाधीशद्वय हरि फुयाल र श्रीकान्त पौडेलको नाम सापकोटासँग जोडिएका विवरण सार्वजनिक भएका छन्। तीनै जनाले विज्ञप्ति जारी गर्दै आफूमाथि उठेका आरोप अस्वीकार गरेका छन्।
यसैबीच, नेपाल बार एसोसिएसनले न्यायाधीशमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। न्यायपालिकाका पदाधिकारी र बिचौलियाबीच सम्बन्ध रहेको भनिएका सूचना सार्वजनिक भएपछि यस विषयले न्याय क्षेत्रमा चर्चा पाएको छ।