काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ। सोमबार आयोजित एक भव्य कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रुपमा रिबन काटेर भवनको उद्घाटन गर्नु भएको छ। करिब ३ हजार २२० वर्गफिटमा फैलिएको भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, बीमा अभिकर्ता तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो।
यस सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहनेछ। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए। भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए। निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरुमा घर–जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको उनले जानकारी दिए।
अग्रवालले २०७२ मा संविधान जारी भएपश्चात नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मूर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातैवटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए। गण्डकी प्रदेशको साक्षरता दर, कुल ग्राह्यस्थ उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेशवासीलाई उनले धन्यवाद ज्ञापन गरे। बीमा क्षेत्रमा गण्डकी प्रदेशद्वारा गरिएको योगदानको अग्रवालले मुक्तकण्ठले प्रसंशा गरे। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा नेपालको जनसंख्याको करिव १० प्रतिशत जनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सूचाकका आधारमा अब्बल रहँदै आफूलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा नेपाल लाइफ स्थापित रहेको उनले बताए। शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवराज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए। प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानीय ठाउँबाट प्रदान गर्न सके बीमा सचेतामा बढ्न गई बीमाप्रति मान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए।
बीमा क्षेत्रमा नेपाल बीमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाहरुले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा सञ्चालक समितिका सदस्य विमलप्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सिमा आफैँ तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएको हुनाले आफ्नै गाउँ–ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुका लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको विचार व्यक्त गरे। समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्य कृष्णराज लामिछानेले नेपालको सुन्दर नगरी पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बीमा सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर भएको देख्दा गौरवान्वित महसुस भएको बताए। नेपाल लाइफको काठमाण्डौ उपत्यकाबाहिर पोखराको भवन पहिलो रहेको तथा यसले कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।
हरेक घरमा एक बीमाको आवाधारणलाई मूर्त रुप प्रदान गर्नुका साथ–साथै गरिब, सीमान्तकृत समुदायलाई बीमाको दायराभित्र ल्याउनका निम्ति राज्यले बीमामैत्री नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले पोखरामा घर खरिद गरी सेवा प्रवाह गर्नु रणनीतिक रुपमा एकदमै महत्वपूर्ण रहेको बताए। आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए। नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतीका साथसाथै प्रशस्त अवसरहरुसमेत रहेको पराजुलीले बताए। प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरणसँगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे। प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बीमा बजारको बजारीकरण, बीमा सचेतना तथा बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफू ढुक्क रहेको पराजुलीले बताए।