काठमाडौं । कोरोना सक्रमणको त्रास अब आम नगारिकमा मात्रै होइन भीआईपीलाई पनि हुन थालेको छ । सभामुख निवास बालुवाटार छिरेको कोरोनाले नेकपा अध्यक्ष प्रचण्ड निवासतिर पनि जरा गाडेको छ । कोरोना संक्रमण बढेसँगै सरकारले जोरबिजोर र रातिको समयमा आवागमन बन्द गराएकै भोलिपल्ट नेकपा अध्यक्ष पुष्पकमल दाहलको सुरक्षामा खटिएका आधा दर्जन सुरक्षाकर्मीमा कोरोना देखिएको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका कुनै सदस्यलाई संक्रमण देखिएको छैन ।
प्रचण्ड परिवारका सबैको रिपोर्ट नेगेटिभ
नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । तर, प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको उनले बताएकी छिन् ।