free website hit counter

प्रभु महालक्ष्मी लाइफद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग

beemaadmin
२०८३ भाद्र १७, बुधबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो।

Advertisement
Advertisement

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्रजंग पाण्डे र शमशेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

Advertisement
Advertisement

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ।

बाढी र डुबानका कारण नागरिकको ज्यान गएको, कतिपय बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा क्षति पुगेर सयौँ परिवार विस्थापित भएको कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति कम्पनीले समवेदना व्यक्त गरेको छ।

कम्पनीले विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाएको छ।

प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ। ‘ढुक ढुक हैन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप प्रदान गरिएको यो सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने कम्पनीको विश्वास छ।

कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार