लन्डन । कोरोना आतंककाबीच बेलायतमा अर्का नेपालीको ज्यान गएको छ । भूपू गोर्खा यामबहादुर मल्लको कोरोना संक्रमणकै कारण निधन भएको हो । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको बताइएको छ । स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा उपचारकै क्रममा निधन भएको बताइएको छ । उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको थियो । सन् २००४ देखि छोरा–बुहारीका साथमा बेलायतको स्वीन्डनमा बस्दै आएका मल्लका तीन छोरी र एक छोरा रहेका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।