काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ । यसैबीच कपिलवस्तुमा भएको एक विवाहमा दाइले बहिनीलाई बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो बहिनीको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक शुभअवसरमा जीवन बीमा सुरुवात गरेको बुदभुमी नपा १ महेन्द्रकोट, कपिलवस्तुका बिजय पोख्रेलले बहिनी दुर्गा पोख्रेललाई ५ लाखको सिटिजन जीवन सारथी बीमा योजना बीमा पोलिसी उपहार प्रदान गरेका हुन् । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बेलबास शाखाका एजेन्सी म्यानेजर गोपाल कुवॅंरले जीवनमा विपत्तिले निम्त्याउन सक्ने र आर्थिक समस्याको समाधान गर्न जीवन बीमा उपहार दिइएको कुवॅंरले बताए। परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सधैंभर याद दिलाउने उपहारको रुपमा बीमा दिने चलन बढेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बेलबास शाखाका प्रवन्धक योगेन्द्र रायमाझीले बताए । यो नौलो उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको उनको भनाई छ । जसरी विवाहलाई जीवनको एउटा कर्म मानिन्छ उसैगरी बीमालाई समेत बुझ्नु पर्ने प्रवन्धक रायमाझीले बताए । विवाह समारोहमा उपस्थित आफन्त,जन्तीपक्षले नौलो कामको प्रसंसा गर्दै आफूहरु पनि जीवन बीमा गराउन इच्छुक रहेको बताएका छन् ।