free website hit counter

बाढी पहिरोकाे प्रभाव: बीमा कम्पनीमा ९ अर्ब मागदाबी

beemaadmin
२०८१ कार्तिक ३, शनिबार

काठमाडौँ । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै ९ अर्बको मागदाबी परेको छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूका विभिन्न बीमालेख बापत असोज २९ गतेसम्म सो बराबरको मागदाबी परेको हो ।बीमा प्राधिकरणमा सम्बन्धित कम्पनीले पठाएको मागदाबीसम्बन्धी विवरण अनुसार यसरी मागदाबी पर्नेमा १४ वटा इन्स्योरेन्स कम्पनी र चारवटा माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् । यो अवधिमा मागदाबी सम्बन्धी तीन हजार २४४ वटा निवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै मागदाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा १ अर्ब ९५ करोड २९ लाखको मागदाबी परेको पाइएको छ । त्यस्तै, ओरियन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्समा १ अर्ब ८ करोड ८६ लाख, नेको इन्स्योरेन्समा ९६ करोड ८५ लाख, शिखर इन्स्योरेन्समा ९३ करोड ३६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६६ करोड १३ लाख र नेशनल इन्स्योरेन्समा ५६ करोड ४६ लाख रुपैयाँ बराबरको मागदाबी परेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्ससँग ३४ करोड ७४ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३१ करोड ५३ लाख, एनएलजी इन्स्योरेन्समा १९ करोड ८ लाख, सानिमा जीआईसी इन्स्योरेन्समा १७ करोड ७६ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा १० करोड ९८ लाख, राष्ट्रिय बीमा कम्पनीमा १० करोड ६७ लाख, प्रभु इन्स्योरेन्समा १० करोड २५ लाख रुपैयाँको मागदाबी परेको छ । चार माइक्रोइन्स्योरेन्समध्ये स्टार माइक्रोइन्स्योरेन्समा ३५ लाख, ट्रस्ट माइक्रोइन्स्योरेन्समा १५ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा साढे ८ लाख र प्रोएक्टिभ माइक्रो इन्स्योरेन्समा साढे तीन लाख रुपैयाँ मागदाबी परेको छ ।
मागदाबी रकममध्ये अहिलेसम्म १७ करोड २८ लाख रुपैयाँ बराबरको ९७ वटा दाबीमा भुक्तानी समेत भइसकेको छ । यसरी दाबी भुक्तानीमध्ये शिखर इन्स्योरेन्सले मात्रै सबैभन्दा धेरै ८९ वटा दाबीमा १७ करोड २४ लाख ७१ हजार रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ । सानिमा जीआईसीले २ लाख १६ हजार रुपैयाँको एउटा, नेको इन्स्योरेन्सले ६६ हजार रुपैयाँ बराबरको चारवटा दाबी भुक्तानी दिँदा आईजीआईले ३९ हजार रुपैयाँ, हिमालयन एभरेष्टले २४ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ११ हजार रुपैयाँ बराबरको एक–एक वटा दाबी भुक्तानी दिएका छन् ।
अहिलेसम्म बीमा कम्पनीमा प्राप्त मागदाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गतको क्षतिमा दाबी परेको छ । सो बीमा अन्तर्गत मात्रै ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको दाबी प्राप्त भएको छ जुन करिब ७४ प्रतिशत बराबर हो यसमध्ये ४९ वटा दाबीमा १६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । त्यस्तै, इञ्जिनियरिङ बीमा अन्तर्गत १ अर्ब ८४ करोडको मागदाबी हुँदा अहिलेसम्म कुनै पनि दाबी भुक्तानी हुन सकेको छैन । निजी मोटर बीमामा २३ करोड ७२ लाख मागदाबीमध्ये ३५ वटा दाबीमा ७८ लाख रुपैयाँ भुक्तानी भएको छ । सार्वजनिक मोटर बीमा अन्तर्गत यो अवधिमा १६ करोड ९४ लाख दाबीमध्ये ३५ लाख ५६ हजार, सामुन्द्रिक बीमामा २ करोड २० लाखमध्ये एउटा दाबीको ९ हजार र पशुपक्षी बीमामा १० करोड ११ लाखमध्ये ७ वटा दाबीमा ४ लाख रुपैयाँ भुक्तानी भएको छ । कृषि बाली बीमामा ११ करोड १२ लाख र अन्य बीमामा ५ करोड ४९ लाखको मागदाबी परेकोमा कुनै पनि भुक्तानी भएको छैन ।
उपत्यकामै ठूलो क्षति
यसपटकको क्षतिमा परेको मागदाबीमध्ये सङ्ख्याको आधारमा काठमाडौँ उपत्यकामा ८७ प्रतिशत भन्दा धेरै दाबी परेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै २ हजार ५१३ वटा दाबी परेको हो । यसमध्ये काठमाडौँमा १ हजार ७३१ वटा, ललितपुरमा ६४६ वटा र भक्तपुरमा १३६ वटा दाबी परेको उल्लेख गरिएको छ । रकमको आधारमा तीन जिल्लामा ६ अर्ब ६७ करोड रुपैयाँ (७४ प्रतिशत) बराबरको मागदाबी रहेकोमा जम्मा १६ करोड २७ लाख रुपैयाँ (९४ प्रतिशत) भुक्तानी भएको छ । यसबाहेक चितवनमा ६४ करोड ५८ लाख, मकवानपुरमा ५१ करोड ७४ लाख, काभ्रेमा ३३ करोड ७५ लाख रुपैयाँ र सङ्खुवासभामा १४ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी परेको छ । यो अवधिमा सात प्रदेशका ५४ जिल्लाबाट मागदाबी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार