free website hit counter

बाढीबाट क्षतिग्रस्त रसुवागढी हाइड्रोपावरको बीमा दाबी प्रक्रिया अघि बढ्यो

beemaadmin
२०८३ आश्विन ५, सोमबार

काठमाडौं । भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त रसुवागढी हाइड्रोपावरको मुख्य परियोजनाको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा रहेको पाइएको छ।

रसुवागढी हाइड्रोपावरका सूचना अधिकारी नारानाथ न्यौपानेका अनुसार आयोजनाका ठूला संरचनाको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा गरिएको छ। साना संरचना तथा सवारीसाधनको बीमा भने नेपाल इन्स्योरेन्समा रहेको उनले जानकारी दिए।

कम्पनीले बाढीबाट भएको क्षतिबारे बीमा कम्पनीलाई औपचारिक जानकारी गराइसकेको छ। यद्यपि, आयोजनामा भएको क्षतिको यकिन रकम भने स्थलगत निरीक्षण तथा विस्तृत मूल्यांकनपछि मात्रै निर्धारण हुने न्यौपानेले बताए।

मुख्य संरचना, पावरहाउस र ट्रान्समिसनमा क्षति

सूचना अधिकारी न्यौपानेका अनुसार बाढीबाट आयोजनाको मुख्य संरचना, पावरहाउस, पुल तथा ट्रान्समिसन संरचनामा क्षति पुगेको छ। प्राप्त फोटो तथा भिडियोका आधारमा केही संरचनामा क्षति भएको देखिए पनि वास्तविक क्षतिको विवरण तयार हुन बाँकी रहेको उनले बताए।

‘बीमा कम्पनीलाई आयोजना क्षतिलगत्तै औपचारिक रूपमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘सर्भेयर पठाएर क्षतिको मूल्यांकन गरिदिन पनि आग्रह गरेका छौं।’

क्षतिको स्थलगत निरीक्षण र मूल्यांकनका लागि बीमा कम्पनीबाट सर्भेयर पठाउने विषयमा छलफल भइसकेको कम्पनीले जनाएको छ।

बीमा दाबी रकम तत्काल यकिन नहुने

आयोजनामा कति रकम बराबरको क्षति भएको छ र बीमाबाट कति रकम भुक्तानी हुन्छ भन्ने विषय अहिले नै निर्धारण गर्न नसकिने न्यौपानेले बताए।

उनका अनुसार आयोजनाका केही संरचनामा पूर्ण क्षति पुगेको हुनसक्छ भने केही संरचना मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था पनि हुन सक्छ।

‘क्षति पुगेका संरचनाको मात्रै बीमा दाबी गर्नुपर्ने भएकाले स्थलगत निरीक्षण र मूल्यांकनपछि मात्रै दाबी रकम यकिन हुन्छ,’ उनले भने।

बीमा दाबी गरिएको रकमबाट संरचनाको ह्रासकट्टी (डेप्रिसिएसन) घटाएर भुक्तानी गरिने भएकाले बीमाले कति रकम कभर गर्छ भन्ने विषय पनि मूल्यांकनपछि मात्रै स्पष्ट हुने उनको भनाइ छ।

कठिन भौगोलिक अवस्थाले निरीक्षणमा चुनौती

आयोजनास्थलको भौगोलिक अवस्था कठिन हुनुका साथै मनसुन जारी रहेकाले स्थलगत निरीक्षण र क्षतिको विस्तृत मूल्यांकनमा चुनौती देखिएको न्यौपानेले बताए।

आयोजनास्थलमा हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले हाल प्राथमिकता उद्धार तथा खोजी कार्यलाई दिइएको कम्पनीले जनाएको छ।

बाढीपछि आयोजनामा कार्यरत ५१ जना कर्मचारी बेपत्ता रहेको कम्पनीको भनाइ छ। सबै कर्मचारीको बीमा सक्रिय रहेको पनि सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

उद्धार तथा खोजी कार्य सम्पन्न भएपछि मात्रै आयोजनाको भौतिक क्षतिको विस्तृत विवरण तयार हुने र त्यसपछि बीमा दाबी तथा क्षतिपूर्ति प्रक्रिया अघि बढ्ने उनले बताए।

१११ मेगावाटको आयोजना सञ्चालनविहीन

रसुवागढी हाइड्रोपावर चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो। सन् २०११ मा सार्वजनिक कम्पनीका रूपमा स्थापना भएको यस कम्पनीले रसुवामा १११ मेगावाट जडित क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ।

बाढीपछि आयोजना सञ्चालनविहीन अवस्थामा रहेको छ।

कम्पनीको इक्विटी संरचनामा ५१ प्रतिशत संस्थापक सेयर र ४९ प्रतिशत सार्वजनिक सेयर रहेको छ। संस्थापक सेयरतर्फ चिलिमे हाइड्रोपावरको ३२.७९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत र स्थानीय निकायको ०.२१ प्रतिशत हिस्सा रहेको छ।

सम्बन्धित समाचार