काठमाडौँ । खाएको बीष मात्रै लाग्ने, नखाएको बीष नलाग्ने भन्दै आरोप प्रमाणित भए कानुनबमोजिम कारबाही सहुृँला भन्दै आफ्नो बचाउ गर्दै आएका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ । बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् । सो छलफलमा गम्भीर विषय बाहिर आएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले प्रचण्डसँग राय लिएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताइएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । ओलीले बाँस्कोटालाई बोलाएर राजीनामा दिन निर्देशन दिने अनुमान गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो । प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौतफी दवाव परेको छ ।
राष्ट्रियसभा बैठक अवरुद्ध
काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका थिए । उनले तीनवटा माग पुरा नभएसम्म बैठक चल्न नदिने बताएपछि काँग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए । बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले प्रकृयाअनुसार माग सम्बोधन गर्नतर्फ लाग्ने जानकारी गराएपनि सांसदहरु नबसेपछि बैठक स्थगित गरेका थिए ।