काठमाडौं । सरकारले सामाजिक सुरक्षाअन्तर्गत थालेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको बित्तीय संस्थाहरुलाई कार्यक्रम सहभागी हुन नेपाल राष्ट्र बैङ्कले उर्दी जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र सामाजिक सुरक्षा योजनामा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो ।
सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु/गराउनु, राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो ।
पटक पटक कोषमा सूचीकृत हुन समयावधि थप गरिए पनि बैङ्क तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएपछि राष्ट्र बैंकले यस्तो दबाव दिन बाध्य भएको हो । सरकारले श्रमिकको भविश्यलाई जोखिमुक्त बनाउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । सरकारले ल्याएको योजनामा असन्तुष्टि जनाउँदै बैङ्क तथा वित्तीय संस्थाले उक्त प्रक्रियामा सहभागी हुन अटेर गर्दै आएका छन् ।