काठमाडौं । बीमा कम्पनीहरुको पुँजी बढाउन ठूलै चलखेल भइरहेको छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको हालको पूँजी कम भएको तथा जोखिम बढ्दै गएको भन्दै चुक्ता पूँजी बढाउने तयारी भित्रभित्रै गरिरहेको छ । हाल जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
त्यसलाई बढाएर जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको ३ अर्ब पुर्याउने बीमा समितिले गरिरहेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी बढाउने कुरामा कुनै दुविधा नभए पनि कुन मोडल अपनाउने भन्ने विषयमा अझै समिति टुंगोमा पुगेको छैन । बीमा समिति भने कम्पनीहरुलाई हकप्रद शेयर जारी नगरी पूँजी बढाउने योजनामा रहेको बताइन्छ । नेपालका बीमा कम्पनीहरुको पूँजीको साइज सानो, जोखिम बढ्दो, दायरा फराकिलो भएको भन्दै पुँजी बढाउन आवश्यक रहेको बीमा समितिका अध्यक्ष सूर्य सिलवालको भनाई छ ।
पूँजी बढाउने योजना भए पनि हकप्रद शेयर निष्काशन गर्न भने नदिने समितिको तयारी छ । बीमा कम्पनीहरुलाई हकप्रद निष्कासन गर्न दिदाँ बजार नै खल्बलाउन खोज्ने भन्दै हकप्रद निष्काशन गर्न नदिने पक्षमा समिति रहेको बताइन्छ । हकप्रद निष्काशन नगरे पनि पूँजी वृद्धिको अरु विकल्प खोज्दै धेरै जनाको सहभागी हुनेगरी पूँजी बढाउनु पर्ने पक्षमा बीमा समिति रहेको छ । बोनस शेयर वितरण गरेर पूँजी बढाउन समितिले रोकेको छैन । पूँजी बढाउन समितिले क्षमता अनुसारको बोनस वितरण गर्ने दिने, संस्थापकहरुलाई रकम थप्न लगाउने वा मर्जर सम्बन्धि निर्देशिका अनुसार मर्जर÷एक्वीजिसनमा जान बाटो खुलाउने योजनाबारे छलफल गरिरहेको छ ।