काठमाडौं । कोरोना संक्रमणले विश्व अर्थतन्त्रलाई धरासायी बनाइरहेको बेला नेपालको अर्थतन्त्र पनि धरासायी नहुने अवस्था छैन । तर नेपालमा रहेका बीमा कम्पनीहरुमा भने कोरोना संक्रमणको खासै असर नपरेको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापाँगाईले बताएका छन् । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बीमा कम्पनीहरुले ८० अर्ब बीमाशुल्क संकलन गरिसकेको जानकारी गराउँदै अध्यक्ष चापागाईले बीमा क्षेत्रमा खासै असर नपर्ने घोषणा गरेका छन्। फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब गरी ८० अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका अध्यक्ष चापागाईले बताएका छन् । यो रकम गत वर्षको यही अवधिको तुलनामा जीवन बीमा तर्फ २० र निर्जीवन बीमा तर्फ ३ प्रतिशत बढी रहेको समेत उनले बताएका छन् । त्यसैले नेपालको बीमा क्षेत्रमा कोरोनाले खासै प्रभाव नपर्ने उनले दाबी गरेका छन् । चैत मसान्त सम्ममा जीवन बीमा कम्पनीहरुले ८५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्ने अनुमान गरिएको उनको भनाई छ । अहिले पनि बीमा कम्पनीहरूले अनलाइन मार्फत बीमा सेवा प्रदान गरिरहेको जानकारी गराउदै उनले लकडाउन सकेपछि बीमा व्यवसायको विस्तारलाई तीब्र पर्ने गरी समितिले रणनीति बनाईरहेको बताए । लकडाउनको बेलामा नयाँ पोलिसी बिक्री गर्न सक्ने अवस्था नभए पनि र अभिकर्ताहरु गाउँगाउँ जान नसके पनि लकडाउन खुलेपछि त्यसको पूर्ति गर्ने रणनीति बनाइरहेको अध्यक्ष चापागाईले बताएका छन् ।