free website hit counter

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

beemaadmin
२०८३ बैशाख २८, सोमबार

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गरेको हो।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयरमार्फत कुल ४० करोड रुपैयाँ बराबरको शेयर बिक्रीमा ल्याइएको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल ले ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, नुवाकोटको थप्रेकस्थित जलविद्युत आयोजना कार्यालय तथा एनआईसी एशिया बैंक का विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत, साथै मेरो शेयर प्रयोग गरेर अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयरबाट उठेको रकम आयोजनाका लागि लिएको ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। हाल कम्पनीको सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंककुमारी बैंक मा गरी कुल ९६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँ ऋण बाँकी रहेको छ। हकप्रदबाट प्राप्त रकम प्रयोगपछि कम्पनीको ऋण घटेर ५६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँमा सीमित हुने बताइएको छ।

सम्बन्धित समाचार