काठमाडौं । कामना सेवा विकास बैंक दमकस्थित शाखामा कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा बैंकका सीइओ सहित चार जना पक्राउ परेका छन् । बैंकका सिइओ प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । करिब ३२ करोड रुपैयाँ कर्जा अपचलन गरेको भन्दै सीइओ बस्नेत सहित चार जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । चारजनामध्ये अन्य तीन जना कर्मचारी, भ्यालुएटर र ऋणी रहेका छन् । नेपाल राष्ट्र बैंकले ऋण अपचलन भएको भन्दै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाएपछि मात्र झापाको इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका अन्य तीनलाई पक्राउ पूर्जी जारी गरिएको थियो ।
बैंकबाट ऋण दिँदा थोरै धितो राखेको भनिएपनि राखेको धितो भए नभएको नखुल्दा अनुसन्धान अघि बढाइएको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए। बैंकले कर्जा लगानी गरेपछि लगानी गर्दा केही फाइलहरूमा मूल्यांकनभन्दा बढी प्रवाह गरेको देखिएको थियो । कर्मचारीले ऋणीसँग नै मिलेर गलत मूल्यांकन गरेको पाइएको थियो । त्यसपछि सञ्चालक समितिले छानबिन गर्दा उक्त कुरा पत्ता लागेको थियो । जसपश्चात उनीहरुले हिनामिना पुर्याएको भन्दै किटानी गरेर मुद्दा हालिएको थियो । पहिलोपटक ३१ करोड रुपैयाँ ऋण प्रवाह भएकोमा जग्गा (व्यवसाय अधिकतम् पैसामा लिलामी गर्दा पनि ऋण नउठ्ने देखिएको छ । तर अहिले ऋण भने १४ करोड मात्र तिर्न बाँकी रहेको छ। समीक्षा गर्दा धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म बैंकलाई घाटा हुने अनुमान गरिएको छ । यसमा बैंकका तत्कालीन प्रदेश प्रमुख लगायत अन्य केहीको पनि संलग्नता पनि आंकलन गरिएको छ।