काठमाडौं । बैंकर्स संघको अध्यक्षमा भुवन दाहालको पक्कापक्की भएको छ । सानिमा बैंकको प्रमुख कार्यकारी निर्देशक (सीईओ) समेत रहेका दाहाललाई बैंकहरुको छाता संगठनका सबै बैंक तथा पदाधिकारीहरुको समर्थन मिलेको हो । मंसिर १९ गते संघको १८ औं साधारणसभा बस्दै छ । संघको पदाधिकारी चयनका लागि आज मंगलबारसम्म उम्मेद्वारी दर्ता गर्ने अन्तिम समय भएपनि सोमबार बेलुकासम्म अरु कसैको पनि अध्यक्षमा उम्मेद्वारी नपरेपछि दाहाल निर्विरोध चयन हुने पक्का भएको हो । उपाध्यक्ष र अन्य पदाधिकारीहरुमा भने प्रतिस्पर्धा हुनसक्ने देखिएको छ ।
बैंकर्स संघका हालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले दोस्रो कार्यकालको लागि चासो नदेखाएपछि पहिले पनि अध्यक्ष भैसकेका नविल बैंकका सीईओ अनिल केशरी शाहलाई पुनः अध्यक्षको प्रस्ताव गरिएको थियो । उनले पनि खासै चासो नदेखाएपछि भुवन दाहालको पक्षमा सर्वसम्मत निर्णय भएको बताइन्छ । यस पटक अध्यक्ष हुने पालो भने नेपाल एसबीआई बैंकका सीईओ अनुकूल भटनागरको हो किनकि उनी संघका हालका उपध्यक्ष हुन् । तर उनले पुनः उपाध्यक्ष नै रहने रुचि देखाएका छन् ।